नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

आजभोलि

काठमाडौं ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए ।

‘यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्,’ उनले भने ।

गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताए ।  गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट सात करोड ५० लाख बराबरको आम्दानी भएको महतोले जानकारी दिए ।

सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए ।

‘जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने, ‘पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५÷७६ देखि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।

बौदीकाली गाउँपालिका–५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएको बताए ।

‘यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ,’ उनले भने ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौँलगायत बजारमा निर्यात हुने गरेको छ ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !