काठमाडौँ ।
विभिन्न माग राखेर आमरण अनशनमा बसेका नेपालका आंशिक प्राध्यापक संघको माग ११ औँ दिन बितिसक्दा पनि पूरा भएको छैन ।
समयमै समस्याको पहिचान र समाधानमा ढिलाइका कारण अनशनकारी डा. महेश कुमार गजुरेलको अवस्था झनै नाजुक बनेको छ । शनिबारबाट बोल्न, बस्न र आवाज सुन्न नसक्ने भएका छन् । डा. गजुरेल असोज ११ गतेदेखि आमरण अनशनमा छन् ।
गजुरेलको रक्तचापमा देखिएको समस्या झनै बढेर गएको छ । केहि दिनदेखि मुटुको चाल बढी भएको, महत्वपूर्ण अंगहरु दिनप्रतिदिन शिथिल हुँदै गएको, मृगौलामा थप समस्या देखिएको र सुगरको मात्रा अत्यन्त्यै कम हुँदै गएको उनी संलग्न चिकित्सकले बताएका छन् ।
अनशनकारीको अवस्था यतिबिघ्न बिग्रदैँ जाँदापनि सम्बन्धित निकायबाट समाधानको प्रयास सम्मपनि नगरिनुले प्रश्नचिन्ह खडा गरेको छ । विश्वविद्यालय, शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको बाटो हुँदै क्याविनेटले कुनै निर्णय नगर्दासम्म समाधान नहुने आंशिकका मुद्धामा माग पूरा नभइन्जेल अनशन नरोकिने संघले जनाएको छ । हाल विश्वविद्यालयमा १४ सय २० आंशिक प्राध्यापक रहेका छन् ।