बाढी पहिरो पीडितलाई सरकारले खासै सहयोग गरेको छैन

मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य नेपाली काँग्रेस

आजभोलि

समुन्द्री सतहभन्दा ४ हजार ८८० मिटर माथीको भागलाई हिम रोखा भनिन्छ । हेलम्बुमा आएको हिम पैरो नै हो भनिएको छ । यही पैरोले हेलम्बु गाउँपालिकाको नाकोटे, अम्बाथान, तिम्बु, कियूल, चनौटे बजार र मेलेम्ची नगरपालिकाको बजार क्षेत्र सखाप पारेको हो ।

सिन्धुपाल्चोक जिल्लाको लाङ पोगाङको उचाई ७ हजार ८४ मिटर छ । यो जिल्लाको सबैभन्दा अग्लो हिमाल हो । सिन्धुपाल्चोक जिल्लामा बग्ने ठूला नदीहरुमा सुनकोशी, इन्द्रवती, मेलाम्ची, सिन्धु, रिपार हाँडी, झ्यान्री, बलेफी, चाकु, लिवाङ खोलाहरु सिन्धुपाल्चोका प्रमुख नदीहरु हुन् । मेलाम्ची खोलाको उद्गम स्थान गाङजाला भञ्ज्याङको उत्तरी ढाल हो । गाङजालाकै पश्चिमी कुनातिरबाट शुरु भएका ६ वटाभन्दा खोलाहरु समेटेर यो मेलाम्ची ठाडै दक्षिणतिर झर्छ । यो खोलाले तार्केघ्याङ, क्यूल, दुभाचौर, तालामराङ, मेलाम्ची हुँदै अन्ततः जरेटारनिर इन्द्रवती नदीमा मेलाम्ची खोला मिसिन्छ । यही नदीले विनास निम्याएको हो ।

यसै सन्दर्भमा नेपाली कांग्रेस विपद व्यवस्थापन समितिका संयोजक, पूर्व मन्त्री तथा सिन्धुपाल्चोकका काँग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतसँग भर्खरै बाढीपहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलाम्ची नगरपालिकामा पु-याएको क्षती र कोरोना कहरमा केन्द्रीत रहेर कालिका महतले गरेको कुराकानीः

बाढी–पहिरोपछि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची, साँगाचोकगढी चौतारा नपामा के कति क्षेती पुगेको छ ?
यतिबेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती क्षेत्रका धेरै बस्तीहरु पहिरो र डुवानको जोखिममा परेका छन् । त्यहाँबाट हजारौं मान्छेहरु विस्थापित भएका छन् । खासगरी तार्केघ्याङभन्दा मुनी मेलम्ची खानेपानीभन्दा माथि एउटा ठूलो पहिरो गएको छ । त्योबाहेक तिब्बत र नेपालको सीमाक्षेत्रतिर पनि अरु धेरै पहिरो गएको खबरहरु प्राप्त भएका छन् । यो बाढी–पहिरोका कारणले मेलम्ची र इन्द्रावती दाँयाबायाँका धेरै भागहरु अत्यन्तै जोखिममा परेको छ ।

जुन भाग सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ मा पर्दछ । बाडीले अम्बाथान, तिम्बु, कियुलु, चनौटे बजार, तालामाराङ, ग्याल्थुम, मेलम्ची हुँदै सिपाघाटसम्मका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । अर्कोतिर मानवीय क्षतिपनि धेरै भएको आँकलन गरिएको छ । यद्यपि अहिलेसम्म थोरै मान्छे भएको तथ्यांक बाहिर आएको छ । यी ठाउँमा सञ्चारमाध्यम पूर्ण रुपमा ठप्प भएकाले वल्लो टोलबाट पल्लटोलको खबर आदान प्रदान पनि हुन पाएको छैन ।

सञ्चारमाध्यम नहुनु, पुल पनि भत्किनु, आवत–जावतमा समस्या हुनुले क्षेतीको तथ्यांक कसरी बाहिर आउँला त ?
यहाँ वल्लो टोलबाट पल्लो टोलमा कहाँ के भएको छ, केही थाहाँ हुँदैन । पुल–पुलेसाहरु सबै बगाएको छ । दुईवटा पक्का पुल बगाएको छ । झोलुङ्गे पुलहरु पनि बगाएको छ । केही बाँकी पुलहरु पनि भत्किने अवस्थामा छन् । त्यसकारण यी क्षेत्रमा आवत–जाओत ठप्प भएको अवस्था छ । त्यसैले यी क्षेत्रको मृतक र मानवीय क्षेतिको सही तथ्यांक बाहिर ल्याउन कठिन भएको छ । तर, अर्बौंको भौतिक संरचना क्षति भएको छ भने ठूलो संख्यामा मानिसहरु हराएको अवस्था छ । स्थानीय जनता मात्रै होइनन्, मेलम्ची खानेपानीका कर्मचारीसमेत पनि बेपत्ता भइरहेको अवस्था छ ।

हेलम्बुको अम्बाथान, तिम्बु, कियुलु, चनौटे बजार, तालामाराङ, ग्याल्थुम, मेलम्ची हुँदै सिपाघाटसम्मका भौतिक संरचनामा ठूलो क्षति पु–याएको छ । अर्कोतिर मानवीय क्षतिपनि धेरै भएको आँकलन गरिएको छ । यद्यपि अहिलेसम्म थोरै मान्छे भएको तथ्यांक बाहिर आएको छ।

तपाईं घटनास्थलमा मन्त्रीभन्दा अगाडि पुग्नुभएको थियो, विस्थापितलाई तत्काल व्यवस्थापन गर्न सकिन्छ त ?
निर्वाचन क्षेत्रको हिसावले कुरा गर्दा मेरो क्षेत्र त्यो होइन । नभए तापनि बिपदको बेलामा त्यो ठाउँमा पुगेर आफ्नो बलबुताले भ्याएसम्म काम गर्ने मेरो पहिलादेखिको परम्परा नै हो । पहिलादेखि नै मैले यस्तो काम गर्दै आएको छु । योभन्दा पहिला पनि सिन्धुपाल्चोक जिल्लाको जुरेको पहिरो, त्यसपछि कोरोना हुँदै यो बाढीपहिरोमा पनि खटिरहेको छु । मैले सबैभन्दा पहिला त यो बाढी कसरी आयो भनेर खोजी गरेँ । त्यसमा सहयोग गर्ने फिस्टेल एयरका क्याप्टेन पनि आँटिलो हुनुहुँदोरहेछ । हामीले खोलाको किनारैकिनार गएर त्यो पहिरो हे–र्यौं ।

त्यहाँबाट फर्किएर कियूलमा ल्याण्ड ग–र्यौं । त्यहाँ बाढीमा श्रीमान् गुमाएकी बहिनीलाई केही सहयोग ग–र्यौंं । त्यसपछि त्यहँँको परिस्थिति बुझेर टेन्ट, खाद्यन्न र औषधि उपचारको जरुरी देखेर काठमाडौं आएर सामान पु–यायौं । खासगरी मेलम्ची एरियामा चाहिं दाताहरु पनि धेरै पुग्नुभएको छ । त्यसभन्दा माथि बाटो नभएकाले, पुलपुलेसा नभएका कारणले सामान पु-याउन गाह्रो छ । त्यस ठाउँमा हाम्रा साथीहरुको नामै लिएर भन्नुपर्दा अभिनेत्री स्वेता खड्का, मेलम्ची नगरपालिकाका वडा अध्यक्ष वसन्त गुरुङ, नेपाली कांग्रेसका वडा सदस्य, तरुण दलको क्षेत्रीय सभापति शमिर तामाङलगायतका साथीहरुको सहकार्यमा हेलिकप्टरबाटै सामान ओसार्ने काम भयो हेलम्बुमा । म चाहीं गाडीमै विभिन्न दाताहरुलाई लिएर मेलम्ची पुगेँ ।

त्यहाँ प्रहरीका जिल्ला प्रमुख, सेनाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सबै पुग्नुभएको थियो । त्यो दिन जर्नेल सा’ब र डीआइजी सा’ब पुग्नुभएको थियो । उहाँसँग आर्मीको हेलिकप्टरबाट हेलम्बुका विभिन्न ठाउँमा खाद्यन्न सामाग्री पठाउने सल्लाह भयो ।  त्यो काम सेनालाई जिम्मा लगायौं । र, सेनाले अस्तीबाटै सामान ओसार्ने काम गरिरहेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतको नेतृत्वमा सीमापार वाणिज्य संघ मिलेर माथिल्लो बाटो फोर ह्वील गाडीहरुको माध्यमबाट जबर्जस्ती केही सामानहरु पु-याउने काम भएको छ । चनौटे भन्ने ठाउँमा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल छ । त्यो पुल एकदमै नाजुक भएको छ । त्यसैले उद्दार र खाद्यन्न ओसारपसारमा एकदमै गाह्रो भएको छ । हामीले पनि हेलिकप्टर ल्याण्ड गर्दा ठाउँ सारीसारी गरेका थियौं । वर्षायाम भर्खर सुरु भएकाले हेलम्बु र मेलम्ची दुवै ठाउँ एकदमै जोखिममा छन् ।

नेपाली कांग्रेसले तपाईंलाई बिपद् व्यवस्थापन समितिको संयोजक बनाएको छ, आउँदा दिनको लागि कस्तो तयारी गर्दै हुनुहुन्छ ?
मलाई बिपद् व्यवस्थापन समितिको संयोजक बनाएकोमा पार्टी सभापतिलगायत सम्पूर्ण नेताहरुलाई धन्यवाद दिन चाहन्छु । यो समितिबाट हेर्ने कुरा त छँदैछ । त्योभन्दा बाहेक पनि मैले काम गर्दै आएको छु । मेलम्चीको कुरा गर्नुपर्दा वर्षाको सुरुवात भएकाले माथिल्लो भेगमा जति जोखिम छ, तल्लो भेगमा त्यति नै जोखिम छ । त्यसैले मेलम्चीसम्म खाद्यन्न पु¥याउन सजिलो छ तर माथिल्लो भेगमा धेरै कठिन छ । त्यसको लागि नेपाली सेनाको सहयोगबाट पु–याउने काम गरेका छौं । पुल–पुलेसाहरु भत्किएकाले तत्कालै बेलिब्रिजको व्यवस्था गर्नुपर्ने भएको छ । त्यसको लागि सरकारी पक्षसँग कुरा राखेका छौं । यहाँको परिस्थिति हेर्दा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने देखिन्छ । नेपाली कांग्रेसको तर्फबाट हामीले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन दिँदैनौं । पार्टीले दिएको जिम्मेवारी र आफ्नो तर्फबाट गर्नुपर्ने काममा म अहोरात्र खटिरहेको छु ।

निधन भएको महिलाको ९ दिनको बच्चा थियो । त्यो बच्चा हुर्काउन मैले अस्पतालमै गएर एक लाख रुपैयाँ दिएँ । उसको पठनपाठनको हामीले जिम्मा लिएका छौं । त्यो जिम्मेवारी हामी पुरा गर्छौं ।

हो, खटिरहनुभएको छ, जनउपयोगी के के सामान लानु भयो ?
मेलाम्ची नगरपालिकाको माथिल्लो भेग पनि गएँ । त्यसपछि १ नम्बर क्षेत्रमा लिपिङको पुल जाने अवस्थामा छ । त्यहाँ पनि गएको छु । जलबिरेको माथिल्लो भेगको गुम्बा, किमाथान्का भन्ने ठाउँतिर पनि गएको छु । त्यहाँपनि समस्या देखिएको छ । त्यतातिर पनि मैले साथीहरुलाई खटाएको छु । यतिबेला यो क्षेत्र, त्यो क्षेत्र नभनिकन सबैतिर समान रुपले काम गरिरहेको छु । खाद्यन्न, लत्ता कपडाको व्यवस्थापन भैरहेको छ ।

समस्या धेरै बताउनुभयो, समाधानका लागि सरकारी पक्षले कत्तिको तदारुकता देखाएको छ ?
सरकारी पक्षको कुरा गर्नुहुन्छ भने मलाई त्यो कुरा भन्न पनि अप्ठ्यारो लाग्छ । स्थानीय निकायहरु आफ्नो तरिकाले थोरबहुत सक्रिय भएको पाएँ । हेलम्बु गाउँपालिकाका अध्यक्षले सामाजिक सञ्जालमा बोलेको मैले सुनेको थिएँ । ‘हामीलाई सरकारले आजसम्म केही पनि गरेन । काठमाडौंमा खानेपानी चाँही सिन्धुपाल्चोक जिल्लाको हेलम्बुबाट लगेको छ, यदि यहाँका जनतालाई केन्द्र सरकारले हेर्दैन भने हामी पनि यहाँको पानी लान दिँदैनौं’ भनेर आक्रोस पोखेको मैले देखेको÷सुनेको छु । मैले देख्दा पनि जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायले गर्नुपर्ने काम गरेको देखियो । तर जुन राहतको प्याकेज हुन्छ त्यो स्थानीय जनता वा विभिन्न ठाउँबाट दाताहरुले दिएको बाहेक सरकारी पक्षबाट यसो गर्ने भन्ने केही कुरा पुगेको छैन ।

राहत वितरणमा एकरुपता भएन भन्ने गुनासो छ, हो ?
राहत वितरणको बारेमा मैले पहिला पनि भनेको छु, भौगोलिक कारणले सबै ठाउँमा एउटै तरिकाले पुगेको छैन । हेलम्बु गाउँपालिकाका धेरै बस्तीहरु सखाप भएका छन् । मानवीय र भौतिक संरचना दुवैमा क्षेति पुगेको छ । यी ठाउँमा बाटोघाटोको असुविधाले राहत पु¥याउन गाह्रो भएको छ । यसमा सरकारले धेरै ध्यान पु-याउनुपर्ने देखिन्छ । दाताहरुले दिएको खाद्यन्न र लत्ताकपडाको भर परेर हुँदैन । सरकारले विशेष प्याकेज प्रोग्राम लिएर जानुपर्छ ।

त्यो सरकारले दिन सकेको छैन । अहिलेसम्म खाली जिल्लाका सेना, प्रहरी, प्रमुख जिल्ला अधिकारी सक्रिय हुनुहुन्छ । केन्द्र सरकारबाट यो प्याकेज प्रोग्राम दिने भन्ने स्पष्ट धारणा नआएकाले उहाँहरु स्थानीय र दाताहरुमा निर्भर हुनुहुन्छ । केन्द्र सरकारलाई हामीले यहाँ पुल बगाइसक्यो, बेलिब्रिज चाहियो भनेर धेरै पहिलादेखि भनेका छौं । अहिलेसम्म एउटा पनि पहल भएको छैन । मेलम्ची नगरपालिकाका धेरै भागहरुमा सहयोग पुगेको अवस्था छैन । ती ठाउँहरुमा पनि सरकारले ध्यान दिएको छैन । हेलम्बु गाउँपालिकाको त पूर्ण रुपमा आवत–जावतदेखि सञ्चार माध्यमहरु बन्द भएको अवस्था छ ।

उदाहरणको लागि जुरेमा पहिरो जाँदा कांग्रेसको पनि सरकार थियो । भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधि हुनुहुन्थ्यो । उहाँलाई भनेर सुनकोशीमा बेलिब्रिज बनाउने काम हामीले १५ दिनभित्रमा गरेका थियौं । कांग्रेस नेतृत्वको सरकारमा मै मन्त्री हुँदा भोटेकोशीमा पुल बगायो । त्यसको भोलिपल्टै म त्यहाँ पुगेँ र बेलिब्रिज तुरुन्तै हाल्ने काम भयो । अहिले बाढी गएको यत्रो दिन भइसक्यो, पुल बगाएर केही छैन । यो विषयमा सरकारले कुनै ध्यानै दिएको छैन । यो अवस्थामा बिरामी कसरी बोकेर ल्याउने ? हेलिकोप्टर ल्याण्ड गर्न नसक्दा बिरामी त्यसै मर्नुपर्ने अवस्था हुन्छ । खाद्यन्न पनि पु–याउने अवस्था पनि छैन । पुलपुलेसाहरु पनि छैनन्, मौसमका कारणले हेलिकप्टर पनि ल्याण्ड गर्न सक्दैन अनि त्यहाँको अवस्था के हुन्छ ?

त्यहाँका जनताको लागि पुल बगाएको ठाउँमा तुरुन्तै बेलिब्रिज बनाउनुपर्ने तपाईंको माग हो ?
हो, तत्कालको लागि बेलिब्रिजको ठूलो खाँचो छ । मेलम्ची नदीमा दुईवटा पुल बगाएको छ । झोलुङ्गे पुलहरु पनि बगाएको छ । त्यति मात्रै होइन, अहिले अर्बौं रुपैयाँ वार्षिक राजस्व उठ्ने तातोपानी भन्सार नाका बन्द भइसकेको छ । त्यहाँको पुल ध्वस्त भइसक्यो । दुरी पनि लामो छैन त्यहाँ त बेलिब्रिज हाल्न पनि सजिलो छ । म मन्त्री हुँदा त्योभन्दा तल तुरुन्तै बेलिब्रिज हालिदिएको थिएँ । त्योभन्दा छोटो दुरीको ठाउँ छ तर सरकारको ध्यान गएको छैन ।

कोरोनाको कारणले भौतिक दुरीका कुरा छन्, धेरै विस्थापितहरु एकैठाउँमा बस्नुपर्ने अवस्था छ कसरी व्यवस्थापन गर्ने सुर छ ?
यसको बारेमा कुनै व्यवस्था भएको छैन । तपाईं मेलम्चीमा जानुभयो भने त्यहाँ जात्रा लागिरहेको छ । एउटा स्कूलको प्राङ्गणमा धेरै ठूलो संख्यामा मान्छे राखिएको छ । खानेपानी सुद्ध नभएका कारण बिरामी पर्न थाले भनेर समाचारहरु आउन थालेका छन् । त्यसकारण व्यवस्थापनमा सरकारले ध्यान दिने हो भने अहिले स्कूल चलेको छैन । ती स्कुलमा जोडिएका परिवारलाई साना–साना ग्रुप बनाएर राख्न सकिन्थ्यो । सरकारले यसमा कुनै ध्यान दिएको छैन । स्थानीय जनता, दाता र प्रहरी प्रशासनले मात्रै चाहेर सम्भव छैन । कोरोको कारणले सावधानी अपनाउनु पर्ने बेलामा यस्तो जात्रा लागिरहेको छ । त्यसकारण एकै ठाउँमा ठूलो संख्यामा होइन, भेगीय हिसाबले छुट्ट्याएर राख्न जरुरी छ ।

कोरोना नियन्त्रणको लागि के–कस्तो योजना बनाउँदै हुनुहन्छ ?
पहिलो चरणमा सरकारले सावधानी अपनाउन सकेको भए दोस्रो चरण यस्तो भयावह हुने थिएन । पहिलो लकडाउन चैत ११ गतेबाट भयो १२ गतेदेखि हामीले काम शुरु गरेका हौं । त्यतिबेला हामी कोरोना बिमा गराएका थियौं । अहिले दर्जनौं पोजेटिभ देखिएका मान्छेहरुले एक लाख रुपैयाँ पनि पाए । जिल्लाका सबै वडाहरुमा हामीले स्वास्थ्य सामाग्री पु¥याका छौं । काठमाडौंका वीर अस्पतालमा पनि पीपीई र स्वास्थ्य सामाग्री नहुँदा हामीले यहाँका उपस्वास्थ्य चौकीहरुमा विदेशबाट मगाएर स्वास्थ्य सामाग्री उपलब्ध गराएका थियौं । सबैभन्दा पहिला सिन्धुपाल्चोका एकजनाको कोरोनाले मृत्यु भयो ।

उहाँको ९ दिनको बच्चा थियो । त्यो बच्चा हुर्काउन मैले अस्पतालमै गएर एक लाख रुपैयाँ दिएँ । उसको पठनपाठनको हामीले जिम्मा लिएका छौं । अहिले पनि चीनबाट अक्सिजनको सिलिन्डर हामीले नै पहिलो पटक ल्याएका हौं । सिन्धुपाल्चोकमा सयवटा अक्सिजनसहित बेड स्थापना गर्न हामीले बेलेका थियौं । त्यो अनुसार १७ वटा अक्सिजनसहितको उपचार केन्द्र खोलिसकेका छौं । अर्को, अक्सिजन प्लान्टको लागि पनि पैसाको व्यवस्था गरिसकेका छौं । अब यदि सरकारले दिएन भने भ्याक्सिनको व्यवस्थाको लागि पनि हामीले सप्लायर्सहरुसँग कुरा गरिराखेका छौं ।

सिन्धुपाल्चोकमा कोरोनोको समस्या कत्तिको छ ?
कोरोनाको समस्या सबै ठाउँमा एकनास छैन । कतै बढी छ, कतै घटी छ । पहिला ठूलो संख्यामा विरामी भएका थिए । धेरै ठीक भएर घर गइसकेको अवस्था छ । बाढीपहिरोले गर्दा सावधानी कम भएको छ । त्यसको लागि गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।

त्यस्तो बेलामा नेपाली कांग्रेसको महाधिवेशन हुन्छ त ?
महाधिवेशन नगरी सुखै छैन । हुन्छ, गर्नैपर्छ । भदौ महिनाभन्दा उता जाने कुनै छुट छैन ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !