अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप ५० माथिकालाई दिन सुझाव

आजभोलि

काठमाडौं । अमेरिकाबाट नेपाल ल्याइने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्तिमा खटिने पेशाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई लगाउन प्रस्ताव गरिएको छ । सरकारका कोभिड विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदारहरूलाई दिन प्रस्ताव गरिएको बताएका छन् ।

यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै साता अन्तिम निर्णय लिने ठानिएको छ भनी विभिन्न सञ्चार माध्येमले सार्वजनिक गरेका छन् । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खोपहरू हाम्रो भण्डारणमा नआइकन हामीले तिनको वितरणबारे निर्णय लिइहाल्न नमिल्ने बताएका छन् । अमेरिकाले जोनसन एन्ड जोनसन खोपको १५ लाख डोज मात्रा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ ।

कोभ्याक्स अभियानमार्फत उपलब्ध गराइएको उक्त खोप औपचारिक कार्यक्रम गरेर सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिँदै छ । सामाजिक सञ्जाल ट्विटरमा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई गरेको अनुरोधका आधारमा ह्वाइट हाउसले १५ लाख मात्रा खोप उपलब्ध गराएको जनाएका छन् ।

उनले ती खोप सोमवार बिहानसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको पनि जनाएका छन् । हाउसकी प्रवक्ता जेन साकीले शुक्रवार अमेरिकाले नेपाललाई १५ लाख र भूटानलाई पाँच लाख खोप पठाउन लागेको घोषणा गरेकी हुन् । अमेरिकाले उपलब्ध गराएको सो खोप ५० वर्षमाथिको उमेर समूहलाई दिन आफूहरूले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको विज्ञहरुले बताएका छन् । उनीहरुले भनेका छन्, ‘अब सोच्नुपर्ने समूह भनेको ५० देखि ५५ वर्षको उमेर समूह भनेर हामीले सुझाव दिएका छौँ । त्यसपछि सकिन्छ भने शिक्षकहरूलाई हेर्नुपर्छ ।

बच्चाहरूमा सङ्क्रमण भए पनि उनीहरू सिकिस्त भई हाल्दैनन् तर उनीहरूले सार्न सक्छन् । त्यही भएर शिक्षकहरूलाई सुरक्षित पार्नुपर्छ । उनले ५५ वर्षभन्दा माथिको र विगतको उमेर समूहको प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेका सबैलाई चीनबाट ल्याइएको भेरोसेल खोप दिने निर्णय भएको बताए । त्यसो गर्दा लगभग १९ लाख जनसङ्ख्यालाई खोप दिनुपर्ने अवस्था रहेको र त्यो चीनबाट हाल खरिद् गरिएको ४० लाख खोपको मात्राले पर्याप्त हुने डा. उप्रेतीको भनाइ छ ।

त्यसबाहेक वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई पनि उच्च प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेबारे प्रस्ताव गरिएको उनले बताए । डा. श्याम उप्रेती भन्छन्, रोजगारीबाट फर्किएका कति व्यक्तिहरू खोप लगाउन नपाएर जानै पाएका छैनन् । उनीहरूलाई हामीले चिनियाँ खोप भेरोसेल नै दिन खोजेका छौँ किनभने कतिपय अरब देशमा अरू खोपलाई मान्यता छैन । त्यही भएर हामीले ५५ वर्षमाथिलाई दिएपछि एक–दुई लाख खोप वैदेशिक रोजगारीमा जाने, अध्ययन र उपचारमा जानेलाई दिनुपर्छ भनेका छौँ ।

उनले जोनसन एन्ड जोनसन कम्पनीको खोप पनि यसअघि नेपाल भित्रिएका चीन र भारतमा उत्पादित खोपहरू जस्तै ७७ वटै जिल्लामा पठाउन सुझाव दिएको बताए । समितिका सदस्य समेत रहेका इपिडिमिओलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जीडी ठाकुरले अग्रपङ्क्तिमा खटिने जोखिममा रहेको समूहलाई अमेरिकाबाट प्राप्त हुने खोप दिनुपर्ने पक्षमा आफू रहेको बताए । उनी भन्छन्– एकदमै उच्च प्राथमिकतामा राखेर शिक्षक जस्तो कुनै निश्चित समूहमा जाने हो कि त्यसबारे सरकारले निर्णय गर्नुपर्छ ।

जो बढी खतरामा छ र बढी भिडभाडमा खटिनुपर्छ त्यसलाई हामीले खोप उपलब्ध गराउनुपर्छ । उनले वैदेशिक रोजगारीमा गएर मुलुकलाई विप्रेषण पठाइरहेका श्रमिकहरूलाई पनि खोप अभियानमा उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव आफूहरूले सरकारलाई दिएको बताए । उनले शक्तिमा रहेका व्यक्तिमात्रै नभई दूर दराजमा रहेको पछि परेको जनसङ्ख्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेर खोप दिइनुपर्ने जनाए । चीनबाट खरिद गरिएको भेरोसेल खोप तीन चरणमा नेपाल ल्याउने बताएको छ ।

सरकारले उक्त खोप नसकिएसम्म हाल जारी खोप अभियान निरन्तर रहने बताउँदै आएको छ । जोनसन एन्ड जोनसनको खोप वितरण गर्ने कार्यतालिकाबारे अधिकारीहरूले केही बताएका छैनन् । डा. उप्रेतीले चिनियाँ खोप वितरणको अभियान सम्पन्न गरेर मात्रै जोनसन एन्ड जोनसन खोप उपलब्ध गराउन थाल्नु उपयुक्त हुने धारणा राखे । उनी भन्छन्, ‘पहिला हामी चिनियाँ खोप नै वितरण गर्छौँ होला । त्यसकारण कहिले सुरु हुन्छ यसै भन्न सकिँदैन । तर मेरो विचारमा दुवै खोप एकैचोटि चल्दैन होला ।

एउटै खोप केन्द्रमा दुइटा खोप दिने कुरा मिल्दैन। त्यसकारण ४० लाख भेरोसेल प्रयोग गरिसकेपछि हामी जोनसनमा जानुपर्छ भन्ने मलाई लाग्छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारी पनि अलमल हुने हिसाबले खोप केन्द्रहरू नतोकिने बताउँछन् । उनका अनुसार प्राविधिक र विज्ञ टोलीहरूको राय लिएर मन्त्रालयले अब प्राप्त हुन लागेको खोप वितरण गर्ने व्यवस्था गर्नेछ ।’

हालसम्म नेपालमा भारतमा उत्पादित अक्सफर्ड–अस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र चीनमा सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको प्रयोग गरी खोप अभियानहरू चलाइएका छन् । असार २५ गते शुक्रवारसम्मको तथ्याङ्क अनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १० लाख १७ हजार ५९६ पुगेको छ । कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !