काठमाडौं । नेपालमा परापूर्व कालदेखि विभिन्न किसिमका जात्रा, चाड पर्व मनाइँदै आएको पाइन्छ । कोरोना भाइरसको संक्रमणका कारण दिल खोलेर मनाउँन पाएका छैनन् ।
यस वर्ष पनि संक्रमण बढेका कारण यस्ता जात्रा, मेला, पर्व विधिमा मात्र सीमित छन् । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको भनाइ छ ।
तर, संस्कृतिविद्का अनुसार प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षपहिलाबाटै उक्त पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् । संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग जोडिए अझ बृहत् रहेको बताएका छन् ।
उनी भन्छन्, ‘हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रुपमा मानिन्छ । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाएर घुमाउने चलन छ । मृतात्माको शान्तिको कामना गर्दै यो पर्व मनाइने गरिएको हो ।
नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ । ’सा’ को अर्थ गाई र ’पारू’ को अर्थ प्रतिपदा तिथि हो, जुन दिन यो चाड मनाइन्छ । नेपाली समाजमा सापारु व्यंग्य गर्ने दिनको रूपमा समेत सुपरिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुमाइने चलन छ ।
यस दिन भजन कीर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु वा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
तर कोरोना संक्रमणका कारण गाई जात्रा पर्व विधिमा मात्रै खुम्चिएको छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने सन्देश दिन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली शहर परिक्रमा गराउनु भनी उर्दी चलाएका थिए ।
यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश अनुरुप सो प्रचलन चलेको जनविश्वास छ । सोही बेलादेखि प्रचलनमा आएको सापारु हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।
सापारु नामले मनाउने गाईजात्रा नेवार समुदायको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाउने गरिन्छ ।
हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने छ भनिएको छ । मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । दिवंगत आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन पनि रहिआएको छ ।
यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने गरिन्छ ।
सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ । उक्त दिन पत्रपत्रिकाहरूमा पनि सामाजिक विकृतिविसंगतिलाई समेटेर हास्यव्यंग्य अङक प्रकाशित गर्ने चलन पनि छ ।
सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरालगायतका नेवारी समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ ।