प्रचण्डको अगुवाइमा समृद्ध भरतपुुरका लागि विकास बहस

आजभोलि

काठमाडौं । भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गर्न लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुनेछन् । उहाँहरुसँगै जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस गर्न लागिएको हो ।

दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताउनुभयो । नारायणी तटबन्धनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । प्रतिवेदनअनुसार रु २३ अर्ब खर्च हुने छ । जसलाई वहुवर्षीय आयोजनामा राखेर यस वर्ष रु पाँच अर्ब बजेट निकासाका लागि अनुरोध गरिँदै छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ । यसलाई सरकारले लिएर काम गर्नुपर्ने बहस सुरु भएको छ । महानगरको ४० वर्ष पुरानो प्रशासनिक भवन जीर्ण बनेको छ । भवनको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । जसका लागि निर्माण गर्न रु ८५ करोड खर्च लाग्दछ । यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिँदै छ ।

शाक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई छिटो गर्ने, नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट माग गर्ने, रिङरोड सम्पन्न गर्नेलगायत कार्यक्रम बहसमा राखिँदै छन् । महानगरको धेरै भाग चितवन क्षेत्र नं ३ मा पर्दछ । यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका हुन् ।

उनकै उपस्थितिमा बहस गर्दा कार्यक्रम प्रभावकारी हुने महानगरको बुझाइ छ । महानगर प्रमुख दाहालले यसअघि गरिएको यस्ता कार्यक्रम प्रभावकारी भएको भन्दै यसले महानगरसँगै जिल्लाको समग्र विकासका लागि सहयोग पुग्ने बताए ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !