मोरङ कारागारका ३६ जना कैदीबन्दीमा कोभिड संक्रमण

आजभोलि

विराटनगर । जिल्ला कारागार मोरङका ३६ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि कारागारमा ६ सय २० जनालाई कोभिड संक्रमण विरुद्धको कोभिशिल्ड खोप लगाइएको छ ।

कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारका लागि कोसी अस्पताल लगिएका १९ जना कैदीबन्दी मध्ये १६ जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि कारागारभित्र कोभिड संक्रमण फैलिएको पत्ता लगाएको थियो ।

त्यसपछि शनिबार ४८ जनाको स्वाब परीक्षण गरेकोमा ३६ को रिपोर्ट पोजेटिभ आएको मोरङ कारागारका निमित्त जेलर निमित्त जेलर तुलसीराम भगतले बताए । अधिकांशलाई १०० डिग्रीभन्दा बढी ज्वरो आएको र अस्पताल भर्ना गरिएकामध्ये एक जनाको मृत्यु भएपछि कारागार प्रशासनले उनीहरूलाई उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलका अनुसार उनीहरूको एन्टिजेन परीक्षण र त्यसपछि गरिएको पिसिआर परीक्षणमा ज्वरो देखिएका बिरामीहरूको पोजेटिभ रिपोर्ट आएपछि थप उपचारका लागि कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा रिफर गरिएको छ ।

शनिबार पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएका मध्ये ११ जनालाई कोशी अस्पतालमै राखेर उपचार भइरहेको निमित्त जेलर भगतले बताए । १९ जनालाई कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा पठाइएको जानकारी दिए ।

‘लक्षण देखिएका ४८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ३६ जनालाई पोजेटिभ देखियो, पा“च जनाको नेगेटिभ र सात जनाको रिपोर्ट स्पष्ट नभएपछि पुनः परीक्षण गर्ने तयारी छ’ निमित्त जेलर भगतले भने, ‘शंका लागेकाहरूलाई कारागार प्रशासनले अलग्गै कोठामा राखेर स्वाव संकलन गरेको छ, संक्रमण पुष्टि भएका सबै कैदीबन्दी पुरूषमात्रै छन्, महिला कैदीबन्दी गृहतर्फ कसैलाई पनि कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।’

ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका मोरङ कारागारका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको बिहीबार अपरान्ह मृत्यु भएको थियो । १०३ डिग्रीसम्म ज्वरो आउने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का मृतक नेपालको शव कोभिड–१९ को परीक्षण नभई आफन्तले बुझेर संस्कार अनुसार शवको दाहसंस्कार गरेका थिए । उनको स्वाब परीक्षण नभएका कारण कोभिडकै कारण मृत्यु भए नभएको यकिन नसकेको जनाइएको छ । उनी ज्यान मार्ने तथा शरीर अंगभंग उद्योगमा ६ बर्षको कैद सजाय भुक्तान गर्दै थिए ।

कोभिड संक्रमण फैलिएको विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा कैदीबन्दीहरूलाई कोभिड विरुद्धको खोप लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले कारागारभित्रका ६ सय २० जना कैदीबन्दीलाई कोभिडविरूद्धको कोभिशिल्ड खोप लगाइएको जानकारी दिए ।

प्रजिअ दाहालले यसअघि कारागारभित्र कति कैदीबन्दीलाई कोभिडविरुद्धको खोप लगाइएको थियो भन्ने तथ्यांक संकलन भइरहेको बताए । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका लागुऔषध मुद्दाका तीन जना थुनुवामा पनि कोरोना पुष्टि भएको प्रजिअ दाहालले जानकारी दिए । कोशी कोभिड अस्पतालमा अहिले १९ जना कैदीबन्दी, तीन थुनुवा र एक जना सर्वसाधारणको उपचार भइरहेको जनाइएको छ ।

तीन सय क्षमताको मोरङ कारागारमा अहिले ९ सय २६ पुरूष र ८६ महिला गरेर १ हजार १२ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । यसअघि कारागारको सुधारका लागि हुने गरेका सरकारी अनुगमनमा संलग्न रहने अधिकारीहरूले दिएका सुझाव कार्यन्वयन हुन नसक्दा मोरङ कारागार कैदीबन्दीको अस्वभाविक संख्याले अस्तव्यस्त बन्दै आएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेका कारण उनीहरूबीच कोभिड–१९ को संक्रमण छिटो फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

आफुहरूले निकै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको ०७८ चैत १४ मा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति र प्रदेश १ को न्याय, प्रशासन तथा विधायन समितिले गरेको संयुक्त अवलोकनका क्रममा कैदीबन्दीहरूले गुनासो पोखेका थिए ।

अनुगमनका क्रममा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलले कारागारभित्र न्यूनतम् मानवोचित व्यवहारको कार्यन्वयन गर्न सरकारलाई तत्कालै सुझाव दिइने बताएका थिए । कैदीबन्दीहरूले स्वस्थ पिउने पानी र जेलभित्रै स्वास्थोपचार समेत नपाएको अनुगमन समितिका सदस्यहरूलाई जानकारी गराएका थिए ।

साढे तीन महिनापछि कोभिड अस्पताल सञ्चालनमा
यसैबीच कारागारका कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएर ठुलो संख्यामा आइसोलेसनमा राख्नु पर्ने भएपछि बन्द रहेको कोशी कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको छ । कोभिड संक्रमित घटेर संक्रमित आउन छाडेपछि ०७८ चैत १५ गतेदेखि बन्द भएको कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको जनाइएको छ ।

संक्रमण बढ्दै गएर आइसोलनको आवश्यकता हुन थालेपछि साढे तीन महिनापछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको कोशी कोभिड अस्पतालका फोकल पर्सन अनुपम राजवंशीले बताए । उनले अहिले संक्रमितलाई भर्ना लिएर उपचार भइरहेको जानकारी दिए ।

 

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !