तोरीखेतीमा कृषकको आकर्षण

आजभोलि

झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ ।

चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उनीरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पु-याउन थालेको छ ।

युवा कृषक नेपालले छ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उनले बताए । तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ ।

“करिब पाँच हजार केजी फल्छ होला,” उनले भने, “एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ । पैँतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु ।” वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए । यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन् । “२० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा”, उनले भने ।

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएका छन्। यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए ।

तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए ।

उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन् । दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन् ।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ । यसपालि उत्पादकत्व बढ्ने उनको अनुमान छ ।

कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य वृद्धि भएपछि नेपाली किसानले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । विगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !