कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

आजभोलि

 खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरेका हुन् ।
उनले व्यावसायिक कृषि पेसा अपनाएको करिब चार वर्ष भयो । विसं २०७५ मा कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा सुरु गरेका उनको वार्षिक आम्दानी अहिले रु २० लाखभन्दा बढी छ ।
किसान युवराजले उत्पादन गरेको तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौसमी खुर्सानी प्रतिकेजी रु चार सय ५० र गोलभेँडा प्रतिकेजी रु ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैँले लगेर ठेगाउने (ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने) गरेका छन् ।
विज्ञान विषयमा आइएस्सी तथा आइटी इञ्जीनियर अध्ययन गरेका ३६ वर्षीय उनलाई श्रीमती सरिता गुरुङले समेत सहयोग गर्दै आएकी छन् । सरिता बिहान–बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्छिन् ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ ।
बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार दुई सय बोट र क्यारोलिना नौ सय बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराजले बताए ।
 सो कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न–गराउन ज्यालादारीमा दैनिक पाँच–छ जना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् ।
यस वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीका रूपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताए ।
गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पालेका छन् । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२  खसीबाख्रा रहेका छन् । कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वार्षिक छ सय केजीभन्दा बढी माछा बिक्री गर्दै आएका छन् । ग्रास र कमनकार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् ।
बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात–आठवटा तथा मसिनो पाठापाठी १०–१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैंकको ऋण लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् ।
कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेसा अङ्गालेको युवराजले बताए ।
गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुई एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुई प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताए ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !