विदेशबाट फर्केर बाख्रापालन गर्दे रूप बुढामगर

आजभोलि

देउखुरी । घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पालेका छन् ।

दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उनले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बनेका हुन् । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बस्नुभएका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताए ।

रोल्पा नगरपालिका–७ घापाबाट दाङको घोराही उपमहानगरपालिका–६ मा १६ वर्षअघि बसाइँ सरेर आएपछि श्रीमती रामकुमारी थापाले घर खर्च चलाउन चारवटा बाख्रा पाल्दै आएकीमा दुई वर्षअघि ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिकरूपमा अगाडि बढेको बुढामगरले जानकारी दिए ।

अहिले उहाँका खोरमा ४६ वटा बाख्रामध्ये २४ माउ, १३ पाठापाठी, सात खसी र दुईवटा बोयर बोका छन् । बाख्रा पाल्नका लागि रु १० लाखको लागतमा तारजालीले बारेर व्यवस्थित खोर बनाइएको छ । दिउँसो बाहिर घाममा र बिहान बेलुका भित्र दुई ठाउँमा बाख्रा राख्ने खोर छन् । दाना खानलाई डुँड पनि व्यवस्थित बनाइएको छ । कतैबाट सहयोग भएमा एक सय वटासम्म बाख्रा पाल्ने उनको रहर छ ।

“युट्युबमा बाख्रा पालेको देखेको थिए त्यहाँ फाइदा भएको मात्रै देखाउने रैछ”, बुढामगरले भने, “त्यही देखेर बाख्रा पालनमा जोडिएको हुँ काम गर्न अलि गाह्रो हुने रैछ । बाख्रालाई दाना, घाँस र पराल सबै किनेर खुवाउने गरेको छु, बजारको दाना खुवाउँदिन ।” मकै र धान खरिद गरेर राखेको र घरमै सानो मिनी मिल रहेकाले त्यसैमा पिसेर दाना बनाउने गरेको र यस काममा आफूलाई श्रीमतीले सघाउँदै आएकीले सजिलो भएको उनले उल्लेख गरे ।

फार्ममा स्थानीय स्तरमा पाइने जातका सहित जमुना पारि, खरी, बोएर सबैजातका बाख्रा छन् । सबै आफ्नै लगानीमा काम गर्दा बेलाबखत पैसाको समस्या पर्ने रैछ । सरकारी अनुदान पाउन त साह्रै गाह्रो हुने रैछ । किसानका लागि बोलिदिने कोही नहुँदो रैछजस्तो लागेको उनको गुनासो थियो ।

एउटा खसी तयार हुन एक वर्ष लाग्छ । तयार भएको खसी २५ हजार देखि ४० हजारसम्ममा बिक्री हुने गरेको छ । जिउँदो खसी किलोको रु छ सयका दरले बिक्री हुने गरेको बुढामगरले बताए । चैत÷वैशाखमा बिक्रीका लागि आठवटा खसी तयार हुँदैछन् । हतारमा प्रतिफल नपाइने रैछ, अझै प्रतिफल पाउने समय नआएको जस्तो लागेकाले धैर्य गरेर प्रतिफलको प्रतीक्षामा रहेको उनको भनाइ थियो ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !