कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

आजभोलि

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ ।

विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको रु ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको रु ४२ लाख बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित रु ५६ लाखको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गरेको थियो ।

धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए। नियमित भजनकीर्तनका साथै भगवतीको दर्शन र स्थानीय ऐतिहासिक तथा पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामका लागि धर्मशाला निर्माण सुरु गरिएको हो । मझुवागढीमा बात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । पानीका लागि सहरी विकास मन्त्रालयबाट २०७२ सालमा विनियोजित रु एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पूरा हुने उक्त समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको किरातको ऐतिहासिकस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर फूलैफूलको पहाड बनाउने अभियान थालिएको हो ।

उक्त अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, सल्ला, जाइ, कपुर, पुवाले मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत ५०० बिरुवा रोपिएको थियो । मझुवागढीलाई फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार पारेर साझा सपना पूरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई फूलैफूलको पहाड बनाउने योजना छ । मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी योजना बनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीमा विसं १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ ।

त्यस्तै गढीकोबीच भागमा मौली छ । रणवीर राजाका रैतीहरुले दसैँ मान्न ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भनिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ । मझुवागढीको केही तल भगवती मन्दिर छ । उक्त मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका९तिज०लगायत चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

  • १६ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !