सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

आजभोलि

झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।

उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो । अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिइन् । अभियानले मेचीनगर वडा नं १० स्थित धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर वडा नं ८ स्थित आदर्श माध्यमिक विद्यालय र मेचीनगर वडा नंं ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयको एक सय मिटरभित्रका पसल तथा घरको अनुगमन गरेको जनाएको छ ।

ती विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र पत्रु खाना (जंक फुड)को निर्वाध बिक्री वितरण भइरहेको अभियानका कोषाध्यक्ष मीरा काफ्लेले जानकारी दिइन् ।

उपभोक्ता जागरण अभियान मेचीनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको प्रतिबन्धात्मक कानुनी व्यवस्थाको कार्यान्वयन नभएको जनाउँदै सोमबार मेचीनगर नगरपालिकामा तीनबुँदे मागपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिकस्थलको सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था गरेको बताइन् । यो कानुनी व्यवस्थाको उल्लंघन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्न सकिने दण्डात्मक व्यवस्थासमेत ऐनले गरेको उनको भनाइ छ ।

नगरभित्रका सार्वजनिकस्थल वरिपरि कानुनले निषेधित गरेको स्थानमा सुर्तीजन्य पदार्थको छ्याप्छ्याप्ती बिक्री वितरण भएको फेला परेपछि त्यसलाई रोक्न माग गर्दै अभियानले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेको नेतृत्वमा नगरपालिकाका कार्यवाहक नगरप्रमुख हृदय राजवंशीलाई बुझाइएको तीनबुँदे ज्ञापनपत्रको पहिलो बुँदामा मेचीनगरका सार्वजनिकस्थलबाट एक सय मिटरभित्रका घर तथा पसलबाट भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरण अविलम्ब रोक्न माग गरिएको छ ।

विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल, नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालय, वडा कार्यालयलगायतका सार्वजनिकस्थलबाट सुर्तीजन्य पदार्थको बिक्री रोकिनुपर्ने माग गरिएको सचिव निरु परियारले बताइन् ।

अभियानले मेचीनगरभित्रका विद्यालयमा दिइँदै आएको दिवा खाजामा पत्रु खाना (जंक फुड) निषेध गर्न र लागुपदार्थविरुद्ध वडा तहसम्म जागरण अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गरेको छ ।

मेचीनगरको शिक्षा शाखा प्रमुख होमप्रसाद भण्डारीले शिक्षण संस्थाबाट सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सबै प्रधानाध्यापकलाई निर्देशन दिइने बताए ।

मेचीनगरका कार्यवाहक नगरप्रमुख राजवंशीले कानुनमा भएको व्यवस्था कसैले पनि उल्लंघन गर्न नमिल्ने हुँदा सार्वजनिकस्थल वरिपरि निषेधित वस्तुको बिक्रीमा रोक लगाउन पहल गरिने बताएका छन् ।

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !