मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

आजभोलि

मकवानपुर । कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् ।

गाउँपालिकाले कोदो प्रतिकिलो ५४, फापर प्रतिकिलो एक सय र जुनेलो प्रतिकिलो ८४ रुपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन् ।

यही क्रममा मकवानपुरगढी–४ कालीखोलास्थित अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा किसानबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रतिकिलो ६० का दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।

कोदो सङ्कलनको पहिलो दिन ११ किसानबाट एक हजार पाँच सय किलोभन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताए । कोदो बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी–४ का किसान सुकुमबहादुर घलानले सबैभन्दा धेरै पाँच सय किलो कोदो बिक्री गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा सङ्कलनको कार्य सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय किसान वीरबहादुर योञ्जनलाई चेक हस्तान्तरण गरेर कोदो खरिदको कार्य सुरु गरेका थिए । अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेका छन् ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !