प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ ।

बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात सांसद अनुपस्थित भएका थिए । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो ।

सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ प्राप्त भएको जानकारी गराए । उनले सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनलाई सो समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो । त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए । सो समयमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

 

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !