राजा, गणतन्त्र र जन्मदिन

आजभोलि

गोपीकृष्ण भट्टराई

दुई तीन कक्षामा पढ्दाको कुरा । धमिलो सम्झना मनसपटलमा छ । विद्यालयमा विहान लाइन बसाइन्थ्यो । गुरूहरूले सबै विद्यार्थीको अनुहारमा अविर लगाइदिन्थे । अनि सबैलाई हातहातमा चकलेट दिन्थे । उ बेला चकलेटलाई हामी निम्चुस भन्थियौं । चुसेर खानेहुँदा निम्चुस भनिएको होला सायद । चकलेट खादासम्म त मन फुरूङ नै हुन्थ्यो । तर पिढा भने त्यतिखेर हुन्थ्यो जब हाम्रो राजा हाम्रो देश । हाम्रा राजा चिराइरहुन् भन्दै विद्यालयदेखि वडा नम्बर १ सम्म र त्यहाँबाट वडा नम्बर ९ सम्म लाईन लगाइर नारा लगाउँदै प्रभातफेरिको नाममा हिडाइन्थ्यो ।

राजाको जन्मदिनको दिन विद्यालय बन्द हुने भन्दै मख्ख पर्थ्यौ हामी । तर विहान १० बजेदेखि झण्डै १ २ बजेसम्म नारा लगाउँदै गाउँ डुलाउँदा खुट्टा दुखेर कट्कट खादा त्यस्तो जन्मदिन नआइदिएको भएनि हु्थ्यो जस्तो लाग्थ्यो ।

घरमा पानासोनिक रेडियो थियो । बुबालाई समाचार सुनिरहनुपर्ने। त्यसैले दाजुले काठमाडौंदेखि किनेर ल्याइदिनु भाको । 

राजाको जन्मदिनको दिन रेडियो नेपालबाट श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेवको जन्मदिनको अवसरमा मौसुफ सरकारको सुस्वाथ्य दिर्धायूको कामना गर्दै छौं  हुलास खाद्य उद्योग भन्दै रेडियोमा शुभकामना शन्देस बजि रहन्थे ।

राजसंस्थाप्रतिको नकारात्मक चर्चा परिचर्चाले गर्दा होला विद्यालयमा राजाको जन्मदिनमा अविर लगाइदिने । चकलेट दिने । प्रभातफेरि गर्ने जस्ता काम पनि हराउँदै गयो । तर विद्यालयमा विदा भने दिइन्थो ।

माओवादी शसस्त्र हिंसा शुरू भएपछि यस्ता कार्यक्रहरू विस्तारै छायाँमा परे । देशमा ठूलो आन्दोलन भयो । कम्युनिष्टहरू २०६२- ६३ को आन्दोलनलाई जनआन्दोलन भाग दुइ भन्छन् । तर त्यो भाग दुइ नभइ भाग तीन थियो । पहिलो २००७ साल । दोस्रो २०४६ साल । कम्युनिष्टहरू २००७ सालको आन्दोलनमा थिएनन् । अझ भनौ कम्युनिष्ट नै थिएनन् त्यस बखत । उनीहरू २०४६ सालको आन्दोलनमा थिए । त्यसैले उनीहरू २०४६ सालको आन्दोलनलाई पहिलो र  २०६२-६३ को आन्दोलनलाई भाग दुइ भन्छन् । आन्दोलनसँगै देशमा गणतन्त्र आयो । राजा हटाईयो । राजाको जन्मोत्सव पनि मनाउन छोडियो ।

राजा हटाइएपछि धरै प्रधानमन्त्रीहरू देशले पायो । ती सबै प्रधानमन्त्रीको पनि जन्मदिन मनाइयो । तर शाहवंशीय राजाको जस्तो जन्मोत्सव मनाएको थाहा भएन ।

अहिले देशमा खड्गप्रसाद ओली प्रधानमन्त्री छन् । उनी आज आफ्नो जन्मदिन मनाउँदै छन् । उबेला रेडियो नेपालबाट प्रत्येक ३ ४ मिनेटको अन्तरमा राजालाई जन्मदिनको शुभकामना विज्ञापन बझ्थ्यो । अहिले फसेबुक तल स्क्रोल गर्दा हरेकले प्रधानमन्त्रीलाई शुभकामना दिएको देख्छु । शुभकामना दिनु आफैमा नराम्रो होइन । तर जुन प्रकारले शुभकाना दिइएको छ, विशेषगरी प्रधानमन्त्रीका कार्यकर्ताले, लाग्छ ओली बाहेक अरू कोही छैन । ओली भन्दा अगाडि अरूपनि प्रधानमन्त्री भए । तर यस्तो तामझाम देखिएन । 

उहिले राजाका पालामा विद्यार्थीलाई छात्रवृत्ती दिइएको । गरिब नागरिकलाई लत्ताकडा वितरण गरिएको । खाना खुवाएको । जन्मदिन पारेर विभिन्न आयोजना शल्यान्याश तथा उद्घाटन गरिएको समाचार रेडियो नेपालबाट सुनिन्थ्यो । अहिले राजाको सिको गर्दै २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिइने कार्यक्रम रहेको समाचार आएको छ ।

घरको आँगनमा हेलिप्याड बनाइएको छ । कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि भन्दै प्रहरी र सेना गरी २०० सुरक्षाकर्मी खटाइएका छन्। २०० स्वयंसेवी । तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने तयारी ।

राजाको जन्मदिनको दिन कैदीलाई माफी दिइन्थ्यो । त्यो प्रधानमन्त्री ओलीको जन्मदिनको दिन सुनिएको छैन । त्यस्तो नहोस् पनि ।

ओली यसभन्दा पहिला पनि प्रधानमन्न्री भएका थिए । तर यस्तो तामझाम देखिएन। जसरी उहिले राजालाई भगवानको संज्ञा दिइन्थ्यो अहिले त्यही परामा उनलाई प्रस्तुत गरिएको छ । राजाले जन्मदिनको दिन जे जे गरे त्यही सिको अहिले गरिदैँ छ ।

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारको फेसबुक पेजमा अहिले उनको जन्मदिनको शुभकामना भिडियो हालिएको छ । भिडियो हेर्दा लाग्छ । ओली नै एक । ओली नै सबथोक । मनौ उनी भगवान हुन् । उनले बोले पछि सबैपुग्छ । जसरी उ बेला राजाको गुनगान रेडियोमा गुञ्जन थियो ।

शुभकामना दिनु जन्मदिन मनाउनु नराम्रो होइन । कुरा राजाले जे जे गरे त्यही सिकोको हो । 

उ बेला राजाको जन्मदिन मनाउन हेलिकप्टरबाट सामानहरू ओसार पसार गरेको सुनिन्थ्यो । अहिले त्यही राजशीशैलीमा चार्टरगरिएको हेलिकप्टरबाट केक लगिएको छ ।

ओली आफ्नो जन्मदिन मनाउन जन्मेको ठाउँ जाने भएपछि गाउँभरि सार्वजनिक विदा दिइएको छ । फरक यति नै देखियो । उहिले राजाको जन्मदिनको दिन देशभर विदा दिइन्थ्यो । अहिले प्रधानमन्त्री जन्मिएको गाउँमा सार्वजनिक विदा दिइएको छ ।

कुनै व्यक्तिलाई जबरजस्ती नायक नबनाअौं । ताकि कुनैदिन खलनायकमा परिणत नहोस् । सरलढंगले जन्मदिन मनाअौ । राजाको सिको नगरौं । 

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई जन्मदिनको शुभकामना ।

  • ११ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !