कोरोना संकट: मन्त्रीज्यू, कम्तिमा आफ्नै लागि त केही गरौं !!!

आजभोलि

लोकराज अवस्थी


अहिले विश्वभरी एउटै चर्चा छ, त्यो कोरोना भाइरस । जसले विश्वलाई नै आतंकित बनाएको छ । र, सबैको साझा समस्याको रुपमा देखिएको छ । अधिकांश राष्ट्रहरुले स्वास्थ्य संकट लगाई सके । जापानले ऐन नै परिवर्तन गरी संकटकाल लगाउँदै छ । जुन जापानका लागि नयाँ कदम हो । अमेरिकाले कम्तिमा ४ ओटा राज्यमा आपतकाल घोषणा गरिसकेको छ । राष्ट्रपति ट्रम्पले देशबासीलाई सम्बोधन गर्दै राज्यका सबैका लागि तयार रहेको जनाए । उनले आफ्ना नागरिकलाई जस्तोसुकै संकटबाट पनि बचाउने घोषणा गरेका छन् । इटालीमा लगभग सवाकरोड नागरिकलाई क्वारेनटाइनमा राखेको छ । र आपतकालिन अवस्थामा देशभर स्वास्थ्यकर्मी तथा उच्चप्रविधि सहित उद्धार टोली २४ घण्टा तयारीमा राखेको छ ।

दक्षिण कोरियाले अरबौ खर्च गरेर कोराना नियन्त्रण गरिहेकोे छ । कोरोनाको जननी चीनले महामारी नियन्त्रणमा आएको घोषणा गरेको छ । भुटानले त झनै उदाहरणीय कार्य गरिहेको छ । जनतालाई सरसफाइका लागि सेनिटाइजर लगायतका औषधि घरघरमा निःशुल्क बाँडिरहेको छ । अर्थात् विश्व तयारी अवस्था छ । सबैले सबैखाले श्रोतसाधन एकिकृत रुपमा परिचालन गर्दैछन् । जहाँ जनता ढुक्क छन् । सरकारको भरोसामा बसी रहेका छन् ।

नेपालमा बल्ल सरकार बामे सर्दैछ । सामान्य तयारी गरेजस्तो देखिएको छ । बल्ल विदेशीका लागि अनअराइभल भिसा रोकेको छ । विदेश जाने युवाका लागि श्रम स्वीकृति स्थगित गरेकोछ । विदेशबाट आएकालाई यात्रुका लागि कम्तिमा दुइ हप्ता क्वारेनटाइनमा राख्ने भनेको छ । तर त्यसको व्यवस्या प्रभावकारी देखिदैन । सरकार चुस्त र प्रभावकारी देखिदैन् । अझै पनि जति आवश्यकता महसुस गर्नु पर्ने हो, गरिएको छैन् । आएपछि गरौला भनेर कोरोना पर्खिरहेको जस्तो आभास भइरहेकोछ । नेपाली झर्रो भाषामा भन्नु पर्दा कानमा तेल हालेर बसेकोछ ।

मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढाकालले कोरोनाको बारेमा तयारी भन्दा पनि टिप्पणीमा बढी जोड दिइरहेका छन् । कहिले भारत र चीनले तयारी गरे हामी गर्नु पर्दैन भनेर भाषण गर्छन् । त कहिले सरकारले सबैलाई क्यारेनटाइनमा राख्न सक्दैन भनेर दम्भी कुरा गरिरहेका छन् । उनीले जनतालाई विश्वास हैन झन तनाव सिर्जना गरिहेका छन् । सरकारका जिम्मेवार मन्त्री कोरोना र नेपाली जनताको स्वास्थ्यमा गम्भिर भएको देखिदैन् । उनले सबै प्रदेशका स्वास्थ्यमन्त्री तथा सरोकारवालालाई डाकेर देशभरी तयारी गर्ने पर्नेमा सिंहदरबारको कोठे बैठकमा व्यस्त रहेका छन् ।

नेपाली जनता भन्न थालेका छन, मन्त्रीज्यू कम्तिमा तपाई र आफ्ना सन्तानको लागि त केही गर्नुहोस् । कम्तिमा आफ्नै लागि भए पनि व्यवस्था गरे राम्रो । किनभने अरु विरामीको जस्तो विदेश जान सकिदैन नी । तपाईसँगै प्रधानमन्त्री, मन्त्री, संसद्, नेता तथा ठूलाबडाको सन्तान जोगिए भने देश त बच्छ नी । भोलि देश चलाउने पनि उहाँहरुले नै हो । नभए कसरी देश चल्ला, मन्त्रीज्यू ? हामी गरिब तथा सर्वसाधारण ज्यान बचाएर के हुन्छ? जहिले नी सरकारको गलपासो मात्र त होनी !


हामी सबैको पशुपतिनाथले रक्षा गरुन !


नेपालमा कोरोनाको चर्चासँगै पशुपतिनाथको पनि चर्चा चुलिएको छ । नेपालमा सरकारको भन्दा पनि पशुपतिनाथको बढी विश्वास गरिन्छ । अहिलेसम्म पशुपतिनाथको कृपाले केही भएको छैन । फेरी पनि पशुपतिनाथले जोगाउँछन् । हामी पहुँच नहुनेको पशुपतिनाथ बाहेक को छ र ? यो सबै पसल, घरघरमा तथा सार्वजनिक स्थलमा सुनिने कुरा हो । जसले आमनेपालीमा सरकारप्रतिको विश्वास नभएको पुष्टि हुन्छ । आम नेपालीहरु विगत पनि ठूलो महामारी हुँदा यस्तै समस्या भोगका धेरै उदाहरण छन् । सामान्य विरामीको उपचार नपाएर ज्यान गुमाइरहेका नेपाली जनतामा महामारी आयो भने सरकारले बचाउँला भन्नेमा भरोसा छैन् ।

बरु उनी आफ्नै भाग्य र भागवानलाई धिक्कारी रहेका हुन्छन् । आफ्नो भन्दा नी सन्तान तथा आफ्न्तको चिन्तमा जिइरहेका हुन्छन् । आफू मेर त केही पनि थिएन, अरु बाँची दिए हुन्थ्यो भनेर भागवानलाई पुकारी रहेका हुन्छन् । जुन नेपाली समाजको महानतम गुण हो ।

कोराना भन्दा पनि मानसिक तनाब बढी

विश्वभरी नै कोरोना रोग भन्दा पनि त्यसको भूतले तर्साइरहेको छ । आम-मानिसमा ठूलो डर पैदा भएको छ । उनीहरुमा एककिसिमको त्रास देखिन्छ । युवाहरु आफ्नो बारेमा चिन्तित छन् । जेष्ठ नागरिक आफ्ना सन्तानको बारेमा चिन्तित देखिन्छ । सबै मानिसमा कोरोनाको बारेमा सोचेर मानसिक तनाब झेल्न बाध्य छन् । नेपालमा न त सरकारले जनतालाई विश्वास दिलाउन सकेको छ । न त जनता नै सरकारप्रति आश्वस्त भइरहेका छन् । कोरोनाले लाखौ मानिस प्रभावित भएको समाचारले उनीहरुलाई अझै सताएको छ । जेष्ठ नागरिकलाई बढी प्रभावित र समस्या सिर्जना गरेको कारण सन्तानहरु आफ्ना आमबुवाप्रति अझै संवेदनसिल मात्र हैन मानिसक त्रासमा बाँचिरहेका छन् । यसरी रोग भन्दा पनि त्रासले सबै मानिसिक तनाबमा छन् । जसले समाजमा ठूलो समस्या सिर्जना गरिहेको देखिन्छ ।

खुला नाकाले शंका बढायो

भारतमा आजसम्मको तथ्यांक अनुसार ७३ जना कोरोनाबाट संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । नेपालसँग सिमाना जोडिएका अधिकांश राज्यमा कोरोना भेटिएको छ । नेपाल सरकारले अहिलेसम्म कुनै पनि नाका बन्द गरेको छैन् । त्यतिमात्र हैन । सबै नाकाहरुमा उच्चस्तर स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छैन् । दिनमा सयौ मान्छे भारतबाट स्वास्थ्य परिक्षण नगरी भित्रीरहेका छन् । गाउँगाउँमा पुगेका छन् ।

ठूलो जनसंख्या भएको तराइमा र स्वास्थ्य सेवा कमजोर भएको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा समेत भारतबाट मानिसहरु भित्री रहेका छन् । भारतमा कोरोनाले महामारी फैलिएको खण्डमा नेपालको अवस्था के हुन्छ । जुन सरकारको नियन्त्रण बाहिर जानेमा शंकै भएन । जसले ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने दिन आउन सक्छ ।

स्वास्थ्य सेवा काठमाडौं बाहिर झनै फितलो

सरकारी अस्पतालमा पहिलेदखि आधुनिक उच्च सविधाहरु छैनन् । हिमाली तथा पहाडी जिल्लामा त अझ झनै दैनीय अवस्था रहेको छ । स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालको भरमा रहेका स्थानमा कोरोनाले झनै महामारी लिने सम्भावना बढी छ । तराईमा जहाँ ठूलो जनसंख्या रहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थाहरु प्रभावकारी देखिदैन । सामान्य उपचारको व्यवस्था नभएको अवस्थामा कसरी कोरोनाको उपचार सम्भव होला ?

दैनिक उपभोग्य वस्तुको अभाव

नेपालमा कोरोनाको प्रभाव देखिएको छैन् । तर उच्च जोखिम भने अझै बढी रहेको छ । सामान्य अवस्थामा पनि दैनिक उपभोग्य वस्तु खाना पकाउने ग्याँस, नुन, पेट्रोल लगायतका वस्तुको अभाव देखिन थालेको छ । सरकारले बजार नियन्त्रण लिन सकिरहेको छैन् । बजारमा आवश्यक सामाग्री उपलब्ध हुँदाहुँदै पनि व्यापारीले लुकाइ रहेका छन् ।

अपभोक्ता पनि आत्तिएर चाहिने भन्दा बढी सामाग्री किनीरहेका छन् । यदि सरकारले बेलै बजारको उचित व्यवस्थापन र नियन्त्रण गरेन भने ठूलो समस्या हुनेछ । र जनतामा हाहाकार उत्पन्न हुनेछ । यसले कोरोना भन्दा पनि बढी प्रभाव पार्ने देखिन्छ ।

आगामी बाटो


सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा पनि एक महिनाको लागि बन्द गरिनुपर्छ । सँगै भारतीय तथा चीनका सबै नाकाहरु पूर्णरुपमा बन्द गरिनुपर्छ । यथासक्य स्वास्थ्य आपतकालको घोषणा गरिनुपर्छ । सरकारी अस्पतालाई अझ व्यवस्थित गरिनुपर्छ । निजी स्वास्थ्य संस्थाहरुले कोरोनाको अनिवार्य निःशुल्क उपचार गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिनुपर्छ । कम्तिमा हरेक गाउँपालिका तथा नगरपालिकमा कम्तिमा दुइओटा आपतकालिन नयाँ अस्पतालको व्यवस्था गरिनुपर्छ ।

बजारमा महंगी तथा कालोबजारी तत्काल रोक्नुपर्छ । कम्तिमा ३ महिनको लागि आवश्यक बस्तुको भण्डारण गरिनुपर्छ । सरकारको प्रत्यक्ष निगरानीमा बजारको व्यवस्थापन गरिनुपर्छ । सरकारले सातै प्रदेश तथा सबै स्थानीयतहसँग समन्वय गरी उचित व्यवस्थापनको तयारी तत्काल अघि बढाउनु पर्छ । अहिलेको तयारी केबल काठमाडौं र सिंहदरबार केन्द्रित भएको छ । जुन आफैमा प्रभावकारी छैन् । परम्परागत समितिले केही गर्न सक्ने अवस्था छैन ।

आत्मबल सबैभन्दा ठूलो ओषधि हो । जनतामा कम्तिमा सरकारले उपचार गर्छ । हामीले सरकारको भरोसा गर्नुपर्छ भन्ने आशा जगाउन सक्नु सरकारको पहिलो दायित्व हो । जनतामा छाएको निरासा कोरोना भन्दा पनि ठूलो समस्या बन्दै गइरहेकोछ । लोककल्याणकारी राज्यले जनतालाई भरोसा र सेवा दिन नसक्नु आफैमा अनौठो देखिएको छ । फेरि पनि सबैले आत्मविश्वास बढाउदै सरकारलाई विश्वास गरौ । र, हातेमालो गरौ ।

  • ३० फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !