चितवनका अस्पतालहरुमा अक्सिजन ग्याँस अभावको चिन्ता

आजभोलि

चितवन । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । अस्पताल आउने बिरामीको चाप र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो ।

अहिलेकै तुलनामा कोरोना संक्रमित बढ्दै जाने हो भने अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ कोरोना संक्रमित उपचारमा छन् ।

भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन् । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पु¥याइएको छ ।

सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ । अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्याँस उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्याँस जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शैया कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन् ।

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जनाएका छन् ।

उनका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । बुष्टरको खोजी भइरहेको उनको भनाइ छ । प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उनले बताए ।

भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ।

ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जनाएका छन् । यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन ।

अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताउनुभयो । यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उनले बताए । (रासस)

 

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !