पहाडी जिल्ला भोजपुरमा रक्त सञ्चार केन्द्र सञ्चालन

आजभोलि

काठमाडौं । भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।

सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको रु ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ ।

सांसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको र केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताए ।

अधिकृत श्रेष्ठल भने, “धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।”

विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीयवासी रङ्गमान राईले बताए, “जिल्लामा ब्लड बैंक नहुँदा अत्यन्तै समस्या थियो । सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो । अकस्मिकरूपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ ।

कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था पनि छ ।  यो स्थापना हामी जिल्लावासीका लागि खुशीको कुरा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।” अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्लाबाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ ।

अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम भइरहेको कार्यालयको भनाइ छ । सङ्कलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ । जिल्ला रेडक्रसका सभापति तुलबहादुर सुब्बाले भने, “निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ ।

यो हामी जिल्लावासीका लागि खुशीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।’

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !