चितवनमा निःशुल्क मानव सेवा आश्रम

आजभोलि

चितवन । उपचारपछि आश्रितलाई राख्ने ठाउँको अभावमा खड्किएको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्दार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्दार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ ।

बालबालिका उद्दारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्दार गरी चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्न थालियो । उपचारपछि राख्ने समस्या आएपछि आश्रम स्थापना गरिएको हो । सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् ।

कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् । भरतपुर महानगरपालिका–९ सङ्गम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । वि.सं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्दार गरिसकिएको छ । उद्दार गरिएकामध्ये ८७ जनाको पुनःस्थापना गरिएको छ ।

आश्रममा रहेकै बेला ३३ जनाको मृत्यु भएको छ । आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् । आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ ।

आश्रम सञ्चालनका लागि मासिक रु दुई लाख ५० हजार हाराहारी खर्च हुने गरेको संस्थाका उपाध्यक्ष विनोद ढकालले बताए । उनका अनुसार आश्रममा चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, नुवाकोट, बागलुङ, पाल्पा, काठमाडौँलगायत जिल्लासम्म पुगेर सहयोगापेक्षीको उद्दार गरी ल्याइएको छ ।

उनी भन्छन्, ‘नितान्त सडकमै बसेका, घर समाज नभएका, मानसिक सन्तुलन गुमाएका र मागेरसमेत खान नसक्ने अवस्थामा पुगेकालाई हामीले उद्धार गरी ल्याएका छौँ ।’ आश्रम सञ्चालनका लागि समितिका सदस्यले नियमित सहयोग जुटाउँदै आउनुभएको छ ।

समितिमै रहेकाहरुले मासिक रु ५०० देखि पाँच हजार सङ्कलन गर्दै आएका छन् । जन्मदिन, विवाहउत्सव, पुण्य तिथिसँगै, लायन्स, लियो, रोटरी, टोल सुधार संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “दाताहरुकै भरमा आश्रम सञ्चालन गरिरहेका छौँ ।”

संस्थाका कोषाध्यक्ष सरोज ज्ञवालीका अनुसार दिगो सञ्चालनका लागि अक्षयकोष अभियान सञ्चालन गरिएको छ । हालसम्म रु ८० लाख हाराहारी रकम अक्षयकोषमा जम्मा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको साथ र सहयोग रह्यो भने मानवीय पुण्य कार्य सफल हुँदो रहेछ भन्ने देखिएको छ ।”

भविष्यमा अक्षयकोषको ब्याज रकमबाट नियमित सञ्चालन हुनसक्ने बनाउनका लागि आफूहरु लागिपरेको ज्ञवाली बताउनुहुन्छ । स्थापनाको छ महिना महानगरपालिकाले घर भाडा दिएपछि निजी क्षेत्रबाट मात्रै सहयोग जुट्दै आएको छ । आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुने गर्दछन् ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !