जंगली च्याउले एकै परिवारका तीन जनाको ज्यान गयो

आजभोलि

ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले त्यो तरकारी खाए । तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन् ।

तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन् । सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे । अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए ।

गत मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो । मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो । करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ ।

अस्पतालले डिस्चार्ज गरेपछि करिश्मालाई ढककुमारीको माइतका आफन्तको जिम्मा लगाइएको छ । तर आर्थिक अवस्था नाजुक भएकाले उनीहरू बिचल्लीमा परेका छन् । गाउँमै एकमात्र विष्ट परिवार उनीहरूको थियो । धेरै वर्ष उनीहरू हालको सुनकोसी गाउँपालिकामा पर्ने कटुन्जेबाट फूलबारी बसाइँ गएका थिए । छिमेकीसमेत रहेका वडाध्यक्ष सुरेश थापाले भने, ‘तीन दिनसम्म घटना लुकाएछन्, त्यसैले यस्तो घटना भयो ।’ कस्तो च्याउ विषालु हुन्छ भन्ने थाहा नपाई खाँदा यस्तो घटना भएको उनले बताए ।

च्याउमा विद्यावारिधि गरेका नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउत जंगलका च्याउ किराले खाएको, जंगली जनावरले खाएको भन्ने तर्क गरेर धेरैले प्रयोग गरे पनि त्यो गलत भएको बताउँछन् । नेपालमा पाइने च्याउमा १ सय ५७ प्रकारका खान मिल्ने र सय प्रकारका विषालु हुने जानकारी उनले दिए । मुलुकमा बर्सेनि विषालु च्याउका कारण ५० देखि ७० को मृत्यु हुने गरेको छ । अधिकृत राउतले भने, ‘खाद्य संकटका कारण पनि स्थानीयले झुक्किएर विषालु च्याउ खाएको बुझिन्छ ।’

 

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !