पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने नगरको तयारी

आजभोलि

खोटाङ । पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो ।

पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले आगामी माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरसम्मै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो । घर–घरमा पुगेर पाठेघर खसेका समस्याको पहिचानका लागि नगरपालिकाले ११ वटै वडाका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई सुनौलो परिवार नेपालबाट प्रशिक्षक ल्याएर तालिम दिइएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहमार्फत पाठेघर खसेका महिलाको पहिचान गर्ने र उपचार प्रवन्ध गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने र घाउ उपचारका लागि औषधि प्रदान गरिने छ । तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर जिल्ला अस्पतालसँग समन्वय गरेर शल्यक्रीयाको प्रवन्ध मिलाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।

जिल्ला अस्पतालसँग पाठेघर खसेका महिलाको शल्यक्रीया गर्ने अवस्था नभए जिल्ला बाहिरका स्वास्थ्य संस्थामा लगेर भए पनि उपचार व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । पाठेघरको समस्या लुकाउँदै आएका महिलालाई काउन्सिलिङको व्यवस्था गरिने छ । ‘पहिलो र दोश्रो स्टेजमा पुगेका पाठेघरको उपचारका लागि रिङप्रेसरी राखिदिन्छौँ । घाउ भएको रहेछ भने औषधि दिन्छौँ,’ घिमिरेले भने, ‘तेश्रो र चौथो स्टेजमा पुगेका पाठेघरको शल्यक्रीयाको व्यवस्था गर्छौँ । शल्यक्रीयाको लागि जिल्ला अस्पतालसँग समन्वय गर्छौँ । जिल्ला अस्पतालमा जनशक्ती ल्याएर उपचार गर्ने अवस्था भएन भने अन्यत्र लगेर भए पनि पाठघेरको उपचार गरिदिने छौँ ।’

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि नगरपालिकाले घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी हुन् ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !