काठमाडौँ । सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइलहरु चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई मोबाइल फोनसहितका सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरु यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल चोरीसहित तोडफोडमा संलग्न भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेका संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाउको छ ।
बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।
उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।