को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?

आजभोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) हुन् ।

मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आउनुभएका पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गरेका छन् । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील व्यक्तिका रूपमा लिइन्छ ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्नुभएका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ÷असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।

विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतले २०१९–२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार भएका थिए ।

नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हालेका पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए ।

नेपाली कांगे्रस पार्टीको केन्द्रीय महामन्त्री (२०६२–२०६४), केन्द्रीय उपसभापति (२०६४–२०७२) र कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांगे्रस पार्टीको कार्यवाहक सभापति भएका थिए । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार भएका थिए । विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गरेका थिए ।

पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका उनले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना÷सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०)समेत जिम्मेवारी सम्हालेका थिए ।

पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।

यसैगरी, सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !