डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

आजभोलि

काभ्रे : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रुपमा सूचीकृत गर्ने भएको छ । काठमाडौंबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ ।

दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिP । ‘डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ,’ उनले भने । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको उनको भनाइ थियो ।

‘विश्वका अन्य देशले समेत धुलिखेलको विकासको मोडललाई अनुकरण गरिरहेका छन्, अब हामी रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा केन्द्रित भएका छौँ,’ ब्याञ्जूले भने । नगरले हाल रू २३ करोडको लागतमा फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ भने बनेपाको फोहर काठमाडौं पुर्‍याउन नपर्ने तथा पनौती नगरको फोहर सङ्कलन गरी धुलिखेलमै व्यवस्थापन गर्ने गरी योजना अघि सारेको छ । सङ्कलन गरिएको फोहरबाट ग्यास, मल बनाइने उनले बताए ।

केही समयमा नै सहरी क्षेत्रका घरबाट निस्कने ३१ प्रतिशत फोहरपानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ सुधार गर्ने नगरको लक्ष्य छ । नगरका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ भने पोषणयुक्त धुलिखेल नगर निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम भइरहेको छ । यहाँका ७२ प्रतिशत स्थानीयलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार सबै नागरिकलाई उपचारको पहुँच पुर्‍याउने उद्देश्यले नगरभित्रका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घरदैलो कार्यक्रमका लागि स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ ।

नगरलाई क्षयरोगमुक्त बनाउने अभियानमा पनि पालिकाले काम गरिरहेको छ भने ‘आरोग्य सहर’ अभियान सञ्चालन गरिएको छ । उक्त अभियानको डब्लुएचओका हेडक्र्वाटर प्रतिनिधि डा टौडिल इस्लाम नेतृत्वको टोलीले यही चैत पहिलो साता अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरप्रमुख ब्याञ्जूले स्वास्थ्य नागरिकको पहिलो अधिकार भएको बताउँदै स्वास्थ्यमा सबैको सहज पहुँचका लागि योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराएका थिए।

इस्लामले विश्वमै क्षयरोग महामारीका रुपमा रहेकाले यसको नियन्त्रण र उपचारमा नगरले चालेको अभियानको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएका थिए । समयमा नै क्षयरोग पहिचान र परीक्षण हुँदा उपचार गर्न सहज हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्यु हसनबाट बचाउन सकिने उनले बताए । डब्लुएचओको टोलीले मुलुकका अन्य स्थानीय तहमा पनि क्षयरोगको अवस्थाका बारेमा अवलोकन गरिरहेको छ ।

धुलिखेलले विश्वमा शून्य कार्वन उत्र्सजन गर्ने सहरका रूपमा चिनाउने गरी काम अघि बढाएको छ । जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिका कार्यालयले जनाएको छ । यस्तै, नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० र धुलिखेल नगरपालिकाबीच समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो तथा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता भएको नाष्टले जनाएको छ ।

कार्यक्रमले वातावरण प्रदूषण तथा स्वास्थ्य समस्या समाधानका पक्षमा दिगोरूपमा वैज्ञानिक ढङ्गबाट समाधान दिने जनाइएको छ । यस अभियान पूर्ण रुपमा सञ्चालनमा आए नगर सफा–सुन्दर हुने जनाइएको छ । साथै कार्यक्रम लागू भएपछि स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनाका साथै बेरोजगारी घट्ने नगरप्रमुख ब्याञ्जूको भनाइ थियो । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ ।

सफा र सुन्दर सहर बनाउनका लागि उक्त कार्यक्रमअन्तर्गत युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएको छ ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२६)मा चर्चाको विषय बनेको थियो । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरबाट निस्केको फोहरपानी प्रशोधन गरी पुन: प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध गरिएको छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !