सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व : प्रमुख आयुक्त गुरुङ

आजभोलि

सोलुखुम्बु । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताएका छन् । यसका लागि सजग हुन उनले सबैलाई आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले लोकतान्त्रिक पद्धतिमा सार्वजनिक निकायका क्रियाकलाप हरेक नागरिकले थाहा पाउने अधिकार भएकाले सूचनाको हक अझ महत्पूर्ण भएको बताए । नियम सम्बद्ध तवरबाट मागिएका सूचना सार्वजनिक निकायले नदिएमा उजुरी परेका खण्डमा आयोगले त्यस्ता निकायलाई कारबाही गर्ने उनले बताए ।

चार वर्षको अवधिमा आयोगले स्थानीय तहका १९ पदाधिकारीलाई कारबाही गरेको सो अवसरमा प्रमुख आयुक्त गुरुङले जानकारी दिए । कुनै पनि सार्वजनिक निकाय सूचनाको हकभन्दा माथि नरहेकाले सूचना प्रदान गर्नमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरे ।

निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकलाई जतिसक्दो धेरै सूचना माग्ने वातावरण सृजना गर्र्नु कर्मचारीको दायित्व भएको बताए । कानुनले निर्दिष्ट गरेका अधिकार नागरिकलाई उपलब्ध गराउने सवालमा जिल्लाका सबै कर्मचारी प्रतिबद्ध रहेका उनले उल्लेख गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया मगरले सूचनालाई अतिरञ्जित गर्न नहुनेमा जोड दिए । सूचनाको हकले नागरिकलाई विषयवस्तुबारे जानकारी गराए पनि सूचना दुरुपयोग हुने क्रम बढेको आभास भएको बताए ।

सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले लोकतन्त्रको सबल पक्षमध्ये सूचनाको हक पनि भएकाले नागरिक सुसूचित हुनुपर्ने बताए । “कार्यालयहरूले सूचना आदानप्रदान गर्दा गोपनीयताको हकको पनि ख्याल गर्नुपर्छ”, उनले भने । सरकारी सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार भए पनि प्राप्त सूचनाको दुरुपयोग गर्न भने नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका सचिव डिबी खालिङले सूचनाको पहुँचमा नागरिकलाई पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !