अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

आजभोलि

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् ।

मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको छ भने ।

प्रधानमन्त्री दाहालले जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश दुई वर्षयताकै प्रगतिमा रहेको बताए ।

वार्षिक औसत महँगीदर सात दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आई पाँच दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो ।”

निजी क्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार सङ्घले विगतका वर्षहरूमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवद्र्धन एवं स्वदेशी उत्पादनमा बढवा दिनुपर्ने बताए । उनले प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरूका निम्ति यस्ता मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षमा प्रतिमहिना औसत रु एक खर्ब २० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा रु चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रेमिटेन्समा निर्भर हुनु अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर यसले तत्कालको सङ्कट निवारणका दृष्टिले महत्त्वपूर्ण योगदान दिन्छ भने ।

चालु आव २०८०र८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति रु १६ खर्ब ९६ अर्ब पुग्नुले पनि अर्थतन्त्र सुधारउन्मुख रहेको सूचित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय बैंकको ब्याजदर घटाइएको र बैंकको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको बताए ।

कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको तथ्याङ्क उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कात्तिकमा कर्जाको औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत रहेको र राष्ट्र बैंकले गत शुक्रबार मात्रै सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर पनि कम गरिएको बताए । राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको जानकारी दिँदै उहाँले यो सुधारले अर्थतन्त्रमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्योग र राजनीतिक महत्त्व राख्ने विराटनगरको विकासमा राज्यको ध्यान कम गएको बताउँदै विराटनगरको विकासका लागि चक्रपथ निर्माण हुनुपर्ने धारणा राखे । उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने र विराटनगरसम्म आउने कार्गो रेल नियमित सञ्चालन हुनुपर्ने कुरामा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यको केन्द्रबिन्दु बन्दै गएको विराटनगरलाई पर्यटकसँग जोडिएर योजनावद्ध विकास गर्नुपर्ने बताए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्दीय सदस्य नवीन रिजालले स्वदेशी व्यापारलाई बढावा दिन ३४ प्रकारको वस्तुमा कर छुट हुनुपर्ने, चोरीपैठारी बन्द हुनुपर्ने, विराटनगरको चक्रपथ निर्माण हुनुपर्ने र औद्योगिक प्रदर्शनीस्थल बन्नुपर्ने माग गरे ।

कार्यक्रममा युवा व्यपारी महेश जाजुलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका वडा नं २ स्थित शङ्करपुरमा अवस्थित सो मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका दुई सय ४० वटा व्यापारिक कक्ष रहेका छन् । मेला पुस १६ गतेसम्म रहने सङ्घका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !